काठमाडौं। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
नेकपा एकीकृत समाजवादी पार्टी गोरखाले लाप्राकमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए।
लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने वचन दिए । “लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ”, उनले भने, “यसलाई अझै गति दिनुपर्ने आवश्यकता छ ।” उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।
विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिए । “विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो”, उनले भने, “तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।”