काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्। मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको बताएकी हुन्।
गत मंसिर १ गतेबाट सिंचाईमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन आफूलागि परेको बताइन्।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादित हुने बस्तुहरु आयात नगर्न पनि व्यवसायीहरुलाई पटकपटक आग्रह गरेकी छन् ।
उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन्। उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने खालको बस्तुहरुको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।