काठमाडौं। पाँचपोखरी थाङपाल गाउँपालिका सिमाक्षेत्रमा आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ। गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालिकाभित्र रहेका विभिन्न कला, संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्धार निर्माण गरिएको हो।
उक्त प्रवेशद्धार निर्माण गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाका वडाध्यक्षसहितका जनप्रतिनिधिले आफूले पाउने सेवासुविधाबाट सहयोग गरेका छन्। गाउँपालिकाको आठ वडाका वडाध्यक्षलाई छुट्याइएको सवारीसाधन खरिद तथा अन्य सुविधावापतको ४ लाख र पालिकाको थप १० लाख गरी ५० लाख लागतमा उक्त प्रवेशद्धार निर्माण गरिएको हो।
सिन्धुपाल्चोकको पर्यटकको आकर्षण केन्द्रका रुपमा रहेको उक्त पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रवेशद्धारसँगै पुस्तकालयसहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको झल्को दिने गरी पाँच पोखरीसहितको महादेवको मूर्ति स्थापना गरीएको छ।
उक्त नवनिर्मित प्रवेशद्धार र सूचना केन्द्रको शनिबार पूर्वमन्त्री शेरबहादुर तामाङले उद्घाटन तथा महादेवको मूर्ति अनावरण पनि गरेका छन्। उनले प्रवेशद्धार निर्माणका लागि राज्यबाट पाउने सेवासुविधा त्याग गरेकोमा सम्पुर्ण वडाध्यक्षलाई धन्यवाद व्यक्त गरे। उक्त प्रवेशद्धार र सुचना केन्द्र निर्माणले सो गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने उनले बताए।