काठमाण्डौं। नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया–सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ। भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको हो।
रुपन्देहीको मैनहिया सवस्टेशनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल प्राधिकरणले जनाएको छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ टावरमध्ये ४४ को जग हालिएको छ भने, पाँच वटा टावर खडा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशक सहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरी आयोजनाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ।
मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमाविन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ। भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३।४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। सो कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको बताइएको छ।