काठमाडौं। नेपाल–भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध निर्माण गर्न सुरु गरेको छ। स्थानीयको विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न सुरु गरेको हो।
भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड–लास्कुखोलामहाकाली नदी किनार–नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न सुरु गरेपछि स्थानीयले विरोध गरेको बताइएको छ। भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको सदरमुकाम खलंगाका स्थानीयले बताए।
भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुग्ने भन्दै स्थानीय निरास भएका छन्। महाकाली नदीलाई भारतले आफ्नोतर्फको जमिनमा ड्याम बाँधेर तटबन्ध गरिँदा नदी साँघुरिने भई त्यसले नेपालतर्फको भू–भागमा क्षति पुग्ने स्थानीयको भनाइ छ।