लमजुङ। सडक सञ्जालले नछोएको लमजुङको मर्स्याङदी गाउँपालिका–५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ। संसद विकास कोष अन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो।
मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्येनजर गर्दै गाउँमा मोटरबाटो पुर्याइएको बताइएको छ। गत वर्षबाट मोटरबाटोको काम सुरु गरिएकोमा यस वर्ष सम्पन्न भएको हो। गत वर्ष ०७७।०७८ मा गण्डकी प्रदेश सभाका सांसद धनञ्जय दवाडीको पहलमा संसद विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङदी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो।
यस वर्ष मर्स्याङदी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको बताइएको छ। सञ्जापुमा मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्याइएको हो।
मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको जानकारी दिए। सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्याउन सकिने हुँदा स्थानीयलाई सहज भएको छ।