सिन्धुली। बाढी पहिरोको कारण सिन्धुलीको तीनपाटन गाउँपालिकामा जीर्ण भएको सडक स्थानीय तहले मर्मत थालेको छ। गाउँपालिकाको ११ वटै वडाको जीर्ण भएको सडक मर्मतको लागि प्रत्यक वडामा ५ देखि १० लाख रुपैँयासम्म बजेट विनियोजन गरेको कुरा गाउँपालिकाले जानकारी दिएको छ।
दशैंसम्ममा गाउँपालिकाभित्र रहेका मुख्य तथा सहायक सडक मर्मत गरी यातायात नियमित गर्ने उद्देश्यले सडक मर्मत थालिएको हो। जेसीबी भाडामा लिएर वडा कार्यलयले पनि जीर्ण भएको भित्रि सडकमा ग्राभेल हालने र खाल्डाखुल्डी पुर्ने तथा पहिरो पन्छाउने काम गरिरहेको छ। त्यस्तै सुनकोसी गाउँपालिकाले पनि बाढी पहिरोले क्षती पु्र्याएको सातवटै वडाको सडक मर्मतको लागि करिब २० लाख बजेट छुट्याएर सडक मर्मतको काम सुरु गरीसकेको छ।
जिल्लामा रहेका मरिण, हरिहरपुरगढी, गोलन्जोरलगाएतका गाउँपालिकाहरुले पहिरोले क्षेती पुर्याएको सडकको मर्मत कार्य सुरु गरीसकेको छ। त्यस्तै मदन भण्डारी राजमार्ग दुवैतर्फ यातायात खुलाउनको लागि पहिरो पन्छाउने काम पनि सुरु गरेको छ। वर्षा रोकिएको साथै चाडपर्ब पनि नजिकिएको मौका पारी पहिरो पन्छाउने तथा जीर्ण भएका सडकहरुको मर्मत थालिएको कुरा गाउँपालिकाले बताएको छ।