म्याग्दी। जिल्लाको रघुगंगागा गाउँपालिका–२ भगवतीमा खरविर–सिम्ले सिँचाइ आयोजनाको नहर निर्माण भएको छ। खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत यस वर्ष पक्की नहर निर्माण भएको हो।
खरविर–सिम्ले सिँचाइ नहर जिल्लामा सबैभन्दा छिटो र गुणस्तर रूपमा स्थानीय युवामार्फत ४ सय ५० मिटर पक्की नहर निर्माण भएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष २०७८÷०७९ मा कार्यालयबाट २० लाख बजेट विनियोजन भएको थियो। यसवर्ष कार्यालयबाट संचालन भएका जिल्लाका योजनामध्ये छिटो र छरितो र मापदण्डअनुसार गुणस्तर पक्की कुलो निर्माण भएको बताइएको छ।
सिँचाइ कार्यालय र श्रमदानबाट ४ सय ५० मिटर नहर निर्माणमध्ये शेरमा २ सय ७० मिटर र तल्लो शेर भागमा १ सय ८० मिटर नहर निर्माण गरिएको छ। स्थानीय मजदुर परिचालन गरेर २३ दिनमा पक्की र गुणस्तर नहर निर्माण भएको थियो। आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको बताइएको छ।
सिँचाइ सुविधा भएपछि धान, गहुँ मकै, फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयले बताएका छन्। यस वर्ष निर्माण भएको पक्की नहरले केही राहत शेरफाटका कृषकलाई मिलेको छ। आगामी वर्षमा सिँचाइ कार्यालयबाट थप बजेट विनियोजनमार्फत सिँचाइ नहर निर्माण भएमा आकाशको भरमा खेती गर्ने समस्या कम हुने देखिन्छ।