काठमाडौं। गण्डकी प्रदेश सरकारको एक पालिका एक पर्यटकीय गन्तव्य कार्यक्रमअन्तर्गत गोरखाको शहिल लखन गाउँपालिकामा भ्यूटावर निर्माण सम्पन्न भएको छ। ५१ लाखभन्दा बढीको लागतमा सुन्दर भ्यूटावर निर्माण सम्पन्न भएको हो।
गाउँपालिकाका अनुसार प्रदेश सरकार आर्थिक सहयोग र स्थानीयवासी समेतको जनश्रमदानबाट भ्यूटावर निर्माण भएको हो। गण्डकी प्रदेश सरकारबाट कूल विनियोजित ४३ लाख ४५ हजार २८७ अनुदान उपलब्ध गराएको थियो। त्यसबाहेक स्थानीय उपभोक्ता समितिबाट करिब आठ लाख बराबरको श्रमदान भएको बताइएको छ।
धार्मिक पर्यटकको अत्याधिक सम्भावना रहेको उक्त गाउँपालिकाको बक्रेश्वरी थानडाँडामा निर्माण गरिएको सो भ्यूटावरले त्यस क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने विश्वास गरिएको छ।
गण्डकी प्रदेश सरकारले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिकामा एउटा पर्यटकिय गन्तव्यको विकास गर्ने योजनाअन्तर्गत उक्त गाउँपलिकाले धार्मिक दृष्टिकोणमा समेत महत्वपुर्ण आस्थाको केन्द्र मानिएको बक्रेश्वरी थान डाँडामा धार्मिक पर्यटक भित्तयाउने लक्ष्यसहित आकर्षक भ्यूटावर निर्माण गरेको गाउँपालिकाले जनाएको छ। विसं २०७७ जेठ १२ गते निर्माण सम्झौता भएको उक्त भ्यूटावर गत असारमा निर्माण सम्पन्न भएको थियो।
नवनिर्मित भ्यूटावरबाट हिमालका सुन्दर दृष्यावलोकनका साथै सूर्योदय र सूर्य अस्तसमेतलाई नजिकबाट नियाल्न पाउने छन्। नवनिर्मित भ्यूटावरको गण्डकी प्रदेशसभा सदस्य लेखबहादुर थापाले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन।