काठमाडौं। म्यग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको छ। उक्त सडक मार्ग खुलेको १५ वर्षपछि बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु गरिएको हो।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्रे गर्न सोमबार प्राइम कोट विछ्याउन सुरु गरिएको हो। सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न सुरु गरिएको नगरपालिकाले जनाएको छ। बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको बताइएको छ।
उक्त प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो। एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो। ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताएको छ।
कालोपत्रका लागि आवश्यक पर्ने सबै प्रकारका निर्माण सामग्री जुटाइसकेको र मौसमले साथ दिएमा चैतभित्र कालोपत्र सकिने बताइएको छ। म्याग्दीको ‘लाइफ लाइन’ मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ। तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।