रसुवा। रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। २०७६ असोजमा नै स्तरोन्नती सुरु गरिएको सडकको साइट क्लियर नहुँदा चिनियाँ निर्माण कम्पनीले काम अघि बढाउन सकेको थिएन।
हाल सडकमा रहेका टेलिफोन तार तथा फाइबर नेटवर्कको तार र बिजुलीका पोल सार्ने काम अन्तिम चरणमा पुगेको हुनाले सडक निर्माण पक्षलाई निर्माण कार्य गर्न अवरोध नहुने योजना प्रमुखको भनाई रहेको छ। टिबेट थियानलु कम्पनी लिमिटेडले चीन सरकारको अनुदान सहयोगमा ३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १५ दशमलव ८ किलोमिटर सडक स्तरोन्नती गर्ने भएको छ। यसपश्चात उक्त सडक निर्माणको लागि बाटो खुलेको छ।