काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन दिएका हुन्।
निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्ने उनले जानकारी दिए। २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनको काठमाडौँ घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेका हुन्।
मन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीहरूलाई आग्रह गरेका छन्। महासंघ प्रतिनिधिमण्डलले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत मूल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरिएको छ।