पाँचथर। तमोर नदीको किनारै किनारबाट पहाड र तराई जोड्ने तमोर करिडोरअन्तर्गत पाँचथरदेखि सुनसरीको चतरासम्मको सडक सञ्चालनमा आउन सुरु गरेको छ। मूलघाटदेखि पाँचथरको माझिटारसम्म ७५ किलोमिटर खण्डमा ग्राभेलको काम सकिएको हो।
यसैगरी माझीटारदेखि भालुचोकसम्म ट्रयाक खोलेर स्तरवृद्धि गरिरहेको मध्यपहाडी राजमार्ग सडक आयोजनाले जनाएको छ। मूलघाटदेखि चतरासम्मको ३६ किलोमिटर खण्ड पनि ग्राभेलस्तरको काम सकिएको छ।
पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने यो सडक तमोर नदीको नजिकै भएर निर्माण गरिएको छ। उक्त सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाबासीलाई तराई झर्न सजिलो बन्दै गएको छ। उक्त सडकको काम ९६ प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
पाँचथरको याङवरक गाउँपालिकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ५३ किलोमिटर सडक बनेसंँगै पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका स्थानीय लाभान्वित हुने आयोजनाले जनाएको छ। गत आर्थिक वर्षसम्म उक्त आयोजना पनि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमार्फत हेरिँदै आएकोमा अब तमोर करिडोरको आफ्नै कार्यालयबाट हेरिने बताइएको छ।
६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागत रहेको सडकको ट्रयाक निर्माणदेखि ग्राबेल स्तरसम्मको स्तरोन्नतिका लागि ठेक्का लागेको थियो। पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ५३ किलोमिटर सडक बनेपछि यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्।
सडक निर्माणसँंगै उत्पादित वस्तुको बजारीकरणमा सहज हुने भएको छ। निर्माण सामग्री ढुवानीमा सहज हुनुका साथै ओलाङ्चुङगोला जोड्ने उतर दक्षिण सडक निर्माणसँगै चिनियाँ र भारतीय बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ।