सिन्धुली। मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानदेखि उदयपुरको बसाहसम्म पुल निर्माणको कामले तीव्रता पाएको छ। निर्माण सम्पन्न हुन बाँकी १८ किलोमिटर सडकमा ८ वटा पुलको काम अन्तिम चरणमा पुगेको हो।
उक्त आयोजनाका अनुसार निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलको काम आगामी असार महिनासम्ममा सम्पन्न हुने गरी एकसाथ भैरहेको छ। पुलको काम सम्पन्न भएसँगै भिमानदेखि बसाहसम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुने बताइएको छ।
दुईवटा पुलबाहेक ७ स्थानको पहुँचमार्ग सडक कालोपत्र हुन बाँकी रहेको आयोजनाले जनाएको छ। पहिला छुटेका १२ वटा पुलमध्ये १० वटामा तिब्र गतिमा काम भैरहेको बताइएको छ। दुईवटामा भने केही समय लाग्ने देखिन्छ। निर्माण हुन बाँकी २१ पहुँच मार्गमध्ये १४ वटा सम्पन्न भई कालोपत्र भइसकेको भने, ७ वटा पहुँच मार्ग सडकको काम भइरहेको आयोजनाले जनाएको छ।
३० मिटरदेखि ६५ मिटरसम्म लम्बाइ रहेका १० वटा पुल आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ। पुल निर्माणको काम सपना हिमदुङ थोक्कर जेभी, कर्मा लामा जेभी र लुम्बिनी कन्स्ट्रक्सनले गरिरहेका छन्। तीनवटा प्याकेज बनाएर पुल तथा पहुँचमार्ग सडक निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।