पर्सा। मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ। पर्साको ठोरीमा शुक्रवार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरेका हुन् ।
तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ। सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको मधेश प्रदेश सरकारका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले बताए ।
ठोरीलाई आयोजित विशेष पर्यटकीयस्थल घोषणा कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका विभिन्न मन्त्री, उच्च पदस्थ कर्मचारी, अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो । केही दिन अगाडि मात्र ठोरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री राउतले ठोरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढङ्गले हुन सकेको तर मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ । भारतसँग सिमानाका जोडिएको कारण पनि यहाँ दिनहूँ हजारौँको सङ्ख्यामा भारतीय र देशका अन्य ठाउँबाट पर्यटक आउने गरेका छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।