काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकास निर्माणको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्। ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सकिएको अवसरमा आज आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरूलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् ।
उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरीय ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै निर्माणको जिम्मा दिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरूको आर्थिक सहयोगमा भएको हो ।
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँका सम्पदा हुन् । यो मन्दिर झण्डै ३०० वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।