काठमाडौं। बैंकिङ कसुरमा पक्राउ परेका निर्माण व्यवसायी अनुप पाण्डे छुटेका छन्। उजुरकर्ताले आफूले रकम पाएको भनि निवेदन दिएपछि थुनामा परेको १४ दिनमा पाण्डे शुक्रबार साँझ छुटेका हुन्।
उनीविरुद्ध नेकपा एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज तथा जिल्ला किमिटी सदस्य गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी थिएका थिए। जाहेरी परेलगत्तै पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेको १४ दिनपछि जाहेरी दिने बस्नेतले आफूले रकम पाएको भनेर निवेदन दिएपछि निर्माण व्यवसायी पाण्डेलाई छोडिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।
जिल्ला सरकारी वकील कार्यालयले कानुनी परामर्शमा १४ दिनको थुनापछि निवेदकले लेनदेनको हिसाबकिताब मिल्यो भनेपछि पाण्डे छुट्ने आधार बनेको बताइएको छ।
बस्नेतले १ करोड ४४ लाख, उप्रेतीले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख र मजदुरले ९५ लाख रुपैयाँ प्राप्त गरेको कागजातसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसँगको परामर्शमा अनुपलाई थुनामुक्त गरेको प्रहरीले जनाएको छ।