पोखरा। संकृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले पोखरा अब अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोडिएको बताएका छन्।
चीन सरकारले शनिबार पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै मन्त्री आलेले नेपाल अब अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोडिएको बताएका हुन्।
उनले भने, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ। यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउने छ।’
मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”
उनले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवर्द्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे ।