सिरहा। गोलबजार नगरपालिका–१ मुक्सारमा अवैधरुपमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेको छ। अवैध उन्खनन् गरिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा सिरहा प्रहरीले छापा मारेको हो।
अवैध ग्राभेल उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एउटा स्काभेटरसहित ५ वटा ट्रिपर नियन्त्रणमा लिएको छ। प्रहरीले ना ३ ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना ३ ख ८७७७, प्र २ –०१–००१ ख ०१०१ र रा १ ख २०८८ नम्वरको ट्रिपर र नम्वर उल्लेख नभएको चेनबाला स्काभेटर शनिबार राति नियन्त्रणमा लिएको हो ।
ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा ट्रिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रत्येक वर्ष विकास निर्माणको काम सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन हुने गरेको छ।
स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भएपनि उनीहरुको मौनताले मिलेमत्तोको गन्ध दिएको स्थानीयहरुको आरोप रहँदै आएको छ ।
स्थानीय पालिका र प्रहरी प्रशासनको समेत मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयको आरोप छ ।