रुपन्देही। नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तथा जग्गा अधकरण कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको छ। लुम्बिनी प्रदेशसभाबाट स्थायी राजधानी घोषणा भएको १८ महिनापछि राजधानीको गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको हो।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले मस्यौदा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका छन् ।
राप्ती उपत्यका (देउखुरी)अन्तर्गत दाङ र अर्घाखाँचीको भूभाग समेटेर निर्माण गरिने राजधानीको गुरुयोजना तयार भएको छ । बुटवल मुकामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजधानीको गुरुयोजना र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले जग्गा अधिकरण कार्यविधि मुख्यमन्त्री केसीलाई बुझाएका हुन् । यो कार्यविधि अबको मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयन प्रक्रियामा लैजाने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
गुरुयोजना र कार्यविधि बुझ्दै मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरुयोजना निर्माण सरकारले समयमै दिनसकेको बताउँदै अब त्यसको कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने र गुरुयोजनाअनुसार प्रशासनिक, शैक्षिक, स्वास्थ्य, औद्योगिक, यातायात सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास क्षेत्र गरी ब्लक बनाइएको बताए ।