बाग्लुङ। ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न सुरु गरिएको छ। तत्कालीन बाइसे चौबिसे राज्यका पालामा भुरे टाकुरे राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न सुरु गरिएको हो।
बागलुङ नगरपालिका–८ स्थित कोतघरलाई पुरानो शैलीमा पुनःनिर्माण गर्नका लागि गत वर्षनै गुरुयोजना बनाइएको थियो। नेपाल एकीकरण पूर्वराजा रजौटाहरुले स–साना राज्य सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढेको बताइएको छ।
कोत घर पुनःनिर्माणका क्रममा गत वर्ष केही पर्खालसमेत लगाइएको थियो। पर्खालको जग खन्ने क्रममा पुरातात्विक वस्तु ओखल, इँटा तथा माटाका भाडासमेत फेला परेका छन्। बाइसे चौबिसे राज्यका पालामा यहाँ भुरे टाकुरे राजाले सिगाना, रेश, तित्याङ तथा रायडाँडामा आफ्नो राज्य सञ्चालन गर्ने गरेका थिए।
रु एक करोड २२ लाखको गुरुयोजनामा मुख्य मन्दिर, सत्तल, पर्खाल, पदमार्ग, शौचालय र बगैँचा निर्माण गरिने योजना रहेको छ। अहिले पहिलो चरणको स्थानीय साझेदारी योजनाअन्तर्गत सहयोग रकम उठाउन थालिएको छ। कोत पुनःनिर्माणमा स्थानीयको समेत साझेदारी हुने स्थानीयले बताए। कोत पुनःनिर्माणमा बागलुङ नगरपालिकाले आवश्यक सहयोग गर्ने र थप बजेटका लागि प्रदेश र सङ्घ सरकारलाई पहल गर्ने बागलुङ नगरपालिकाले जनाएको छ।