काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। आइतबार १० औं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी विस्तारका लागि आग्रह गरेका हुन्।
उनले भने, ‘नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ। नेपालको कृषि बजारमुखी हुने र मानिसलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको छ।’
आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए। पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ छ।
महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए। गैरआवासीय नेपालीको लगानीसँग नेपाली डराउनु नहुने उनले बताएका छन्।