रोल्पा। रोल्पामा करिब ६ करोड लागतमा टावर निर्माण गरिएको छ। रोल्पा नगरपालिका–३ को सातदोबाटो डाँडामा नगरपालिकाको लगानीमा टावर निर्माण गरिएको हो।
टावरको उद्घाटन गर्नका लागि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाँदैछन्।
आजै हुने उद्घाटनका लागि अध्यक्ष दाहाल हेलिकोप्टर चढेर रोल्पा जाने भएका हुन्।
रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले प्रचण्डले आज टावर उद्घाटन गर्ने बताए। त्यसपछि प्रचण्डले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले टावरको शिलान्यास गरेका थिए। ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको थियो।
नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन्।
रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण हुने बताइएको छ। मेयर केसीले टावरबाट मासिक २ लाख आम्दानी हुने गरी टेन्डर आह्वान गर्न लागिएको जानकारी दिए। यसले पर्यटनको विकास र नगरपालिकाको आम्दानीमा वृद्धि गर्ने उनको विश्वास छ।