काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययनका लागि नेपाल र भारतबीच सम्झौता हुने भएको छ। कोभिड–१९का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गर्ने सम्बन्धमा सन् २०१८ मा हस्ताक्षर भए पनि कोभिड–१९ र अन्य विविध प्राविधिक तयारी नपुग्दा कार्यान्वयन सम्झौता रोकिएको थियो ।
त्यसैको आधारमा सन् २०१९ मा भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि चार वटा वैकल्पिक रूट प्रस्ताव गरिसकेको छ।अबको सम्झौताले त्यसैमा आधारित रहेर थप विस्तृत अध्ययनका लागि बाटो खुला गर्ने अधिकारीहरूको भनाइ छ।
ट्राफिक एन्ड अलाइन्मन्ट सर्भे सुरु गर्नका लागि भारतले परामर्शदाता तोकिसकेको र सम्झौताको मस्यौदा तयार गरी दुवै देशका सरकारले सहमति जनाएर सरकारस्तरीय निर्णय गरिसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले जानकारी दिए।