काठमाडौं। अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल सालिक निर्माण हुने भएको छ। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो।
करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइपर्ने विश्वास गरिएको छ। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि सालिक निर्माण थालिएको बताइएको छ। उक्त काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्ने र अर्घा भगवी मन्दिलाई संसारले चिन्ने विश्वास गरिएको छ।
चैते दसैँसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगरपालिकाले जनाएको छ। सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ।