काठमाडौं। पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ। केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पुर्याएको हो।
धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको बताइएको छ। “कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेपछी स्थानीयमा खुसि छाएको छ।
बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाले जनाएको छ। विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पुर्याएपछि बन्द भएको थियो।
यसैगरी धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिले जनाएको छ। खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ।