काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा विकास निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन्। एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन वर्ष सरकारमा रहँदा धेरै संख्यामा ठूला आयोजनाहरु अघि बढेको दाबी गरेका छन्।
उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भूकम्प प्रभावितलाई घरबास उपलब्ध गराउनेदेखि लिएर तराईमा बाढीबाट विस्थापित आठ सय परिवारलाई घर निर्माण गरिदिएको बताए ।
त्यसैगरी भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मानिस अट्ने सभाहल, जनकपुर–जयनगर रेलसेवा आफू सरकारमा भएका बेला मात्र अगाडि बढेको र मूर्तरुप लिएको ओलीको दाबी छ।
उनले अहिले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महँगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको बताए।
एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भएको आरोप समेत लगाएका छन्।