काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामाग्रीमा कालोबजारी बढेर मूल्य पनि अध्याधिक बढेको बताएका छन्।
महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले कालोबजारी बढ्दा निर्माण सामग्रीको मूल्य आकाशिएको बताएका हुन्।
उनले फलामजन्य निर्माण सामग्रीमा उद्योगीहरुले कालोबजारी गरेको आरोप लगाएका छन्। उनले १० प्रतिशत सम्मको मूल्यवृद्धिमा निर्माण व्यवसायीहरु आफैँ जिम्मेवार हुने गरेको भएपनि अहिले १०० प्रतिशत मूल्यवृद्धि भएकाले काम गर्न समस्या भएको बताए। तत्काल मूल्य समायोजन गर्न माग गर्दै उनले मूल्यवृद्धि समायोजन गर्न नसके ‘कन्ट्रक्सन होलिडे’ घोषणा गर्न आग्रह समेत गरेका छन्।
उनले रुस र युक्रेनबीचको युद्धको असर देखाएर अहिले फलामजन्य निर्माण सागम्रीको मूल्य दोब्बरकै हाराहारीमा पुर्याइएको दाबी गरेका छन्। उनले उद्योगिहरुले पूरानै स्टकको मूल्य बढाएर बिक्रि भइरहेको भन्दै अनुगमन गर्न माग समेत गरेका छन्।
अध्यक्ष सिंहले भने, ‘रुस–युक्रेन युद्धका कारण सामान आयात भएन, कच्चा पदार्थ आयात कम छ भनेर मूल्य बढाएका छन् । जबकी, सामान्य अवस्थामा बाहिरबाट आएको स्टिल बिलेट तयारी फलाम बन्न ३० देखि ४५ दिनसम्म लाग्छ, रुस र युक्रेनबीचको युद्ध सुरु भएपछि मगाईएका सामान आईपुगेर तयारी डण्डी बन्ने बेला नै भएको छैन, अनि कसरी मूल्य बढाउन पाइन्छ ? पूरानै स्टकको मूल्य बढाएर बिक्रि गरिरहेका छन् उद्योगीहरुले । यसतर्फ अनुगमन आवश्यक छ।’