झापा। दमक नगरपालिकामा “दमक सपिङ्ग कम्प्लेक्स” निर्माणका लागि नगर विकास कोषसँग ऋण सम्झौता भएको छ। नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको कम्प्लेक्स मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि सम्झौता भएको हो।
कोषको नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन दमक नगरपालिकाबाट कम्प्लेक्स निर्माण हुन लागेको हो।
“दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ । शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
“दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो । दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ ।