काठमाडौं। पेट्रोलियम गाडी आयातमा रोक लगाउन अर्थमन्त्री जनार्दन शर्मालाई सरोकारवालाले सुझाव दिएका छन्। मंगलबार राजधानीमा आयोजित मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा वृहत् छलफल कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन्।
उनीहरुले पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्री शर्मालाई सुझाव दिएका हुन् । अर्थविद् केशव आचार्यले केही वर्ष पेट्रोलियम गाडी आयात रोक्न र विजुली गाडीको आयातमा एक प्रतिशत मात्र भन्सार लगाउन सुझाव दिए । उनले यसले मुलुकको अर्थतन्त्र थप कमजोर हुनबाट रोक्ने बताएका छन्।
अर्थविद् आचार्यले अहिले मुलुकमा बढ्दो तरलता अभावका बीच थप रूस र युक्रेनको तनावले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकोमा सोबाट पाठ सिक्दै नेपालले अब पेट्रोलियम पदार्थको खपत कम गर्ने नीति लिनुपर्ने उनले बताए ।
उनले भने, ‘अब हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ। अघिल्लो सरकारले उल्टो विद्युतीय गाडीमा भन्सार शुल्क बढाएर चक्लेट लगायतका वस्तुमा भन्सार शुल्क घाटायो। यस्तो गल्ती यो सरकारले नगरोस्।’ आचार्यले राष्ट्रिय गौरवको नाममा मनलाग्दी परियोजना छनोट गर्ने र मकै छरेको जसरी बजेट नबाढ्न समेत सरकारलाई सुझाव दिए । संघलाई मात्र नभएर, प्रदेश र स्थानीय तहलाई पनि सक्षम बनाउनु पर्ने र सोही बमोजिम विकासका कार्यमा सरिक गराउनुपर्ने उनको धारणा छ ।