काठमाण्डौं। गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर–चामे सडक मर्मतको जारी छ। सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ। हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा रहेको बताइएको छ।
जिल्लामा यसअघि पनि उक्त चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ। यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको बताइएको छ।
सडक बन्ने बित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यस प्रविधि मनाङ जस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरुमा एकदम उपयोगी हुने देखिएको नासो गाउँपालिकाले जनाएको छ।
मनाङको लाइफलाइनका रुपमा रहेको सडकमा नयाँ प्रविधिको प्रयोग गरी फटाफट गरिएको काम अहिलेको आवश्यकता रहेका छ। जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेँसीसहर–चामे सडकमा धेरै सुधार भएको र अझै तीव्र गतिमा काम अघि बढाउने योजना रहेको आयोजनाले जनाएको छ।
माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लास्टिङ गरेर सहज रुपमा यातायात सञ्चालन भएको छ। डुम्रे–बेँसीसहर–चामे सडक खण्डको १०७ किमीमध्ये लमजुङको बेँसीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ।