महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१ रातु नदी किनारमा निर्माणाधीन ‘रातु ठाकुरमोक्ष धाम’ को काम तीव्र गतिमा अघि बढेको छ। अन्त्येष्टिस्थल निर्माणमा स्वस्फूर्त सहयोग जुट्दै गएपछि ‘धाम’ निर्माणको कामले गति लिएको हो।
रातु नदी किनारमा अहिले हिन्दू संस्कार विधिले गरिने अन्त्येष्टिका लागि धमाधम पाँच वटा चितास्थल (शवदाहस्थल) बनाइँदैछन् ।
पाँच बिघा सात कठ्ठा क्षेत्रको धामलाई सुगम, मनोरम र सुरक्षित बनाउन थालिएका प्रयत्नमा मनकारी दाताले विभिन्न जिम्मेवारी लिएर काम बढाएपछि अब ‘धाम’ निर्माणले गति लिएको ‘रातु ठाकुरमोक्ष धाम’ निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटा बताउँछन् ।
उनले भने, “हिन्दू दर्शनले भौतिक पञ्चतत्वले बनेको शरीर नासवान भए पनि आत्मा अविनासी हुन्छ भनेको छ, त्यसैले मृतक व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने हेतुले व्यवस्थित ‘धाम’ निर्माणमा जुटेका हौं ।”
पूर्वपश्चिम राजमार्गको रातु पुलको उत्तरतर्फ नदीको पश्चिम किनार बर्दिबास नगरक्षेत्रका हिन्दूहरुको अन्त्येष्टिस्थल रहँदै आएको छ ।
अहिले यसै ठाउँको पाँच बिघा सात कठ्ठा क्षेत्रफलको नदी उकास जग्गालाई घेराबेरा गरेर ‘धाम’ निर्माण गरिन लागिएको हो । राजमार्गबाट मोटर बाटो निर्माणाधीन धामसम्म पुर्याइएको छ ।