काठमाडौं। पर्यटन विभागले रोयल्टी र नवीकरण शुल्क नियमित नबुझाउने तीन वटा क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ।
विभागले रक इन्टरनेशनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडले रोयल्टी र नवीकरण शुल्क नबुझाएको भन्दै अनुमतिपत्र रद्द गरेको हो।
विभागले ती क्यासिनोहरुमा खेल संचालनमा रोक लगाउन गृह प्रशासनलाई पत्राचार समेत गरेको छ।
विभागले तीन क्यासिनो कम्पनीहरुलाई पाँच दिन भित्रै बाँकी रकम दाखिला गर्न चैत १० गते निर्देशन दिएको थियो। नवीकरण र बक्यौताबापतको रकम नबुझाएको भन्दै यस अघि ५७ दिनसम्मका लागि समय दिँदा पनि यी कम्पनीहरु सम्पर्कमा नआएपछि विभागले पाँच दिने सुचना जारी गरेको थियो।
रकले ११ करोड ४५ लाख, ह्याप्पी आवरले २१ करोड ५५ लाख र ओरियन्टल होटलले १७ करोड ७६ लाख रुपैयाँ तिर्न बाँकी छ।