काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिका–५ स्थित प्राचीन कालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिरको पुनर्निर्माण कार्य पूरा भएको हो।
मन्दिरको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । मन्दिरको पुनर्निर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्त रूपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ।
उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले नमोबुद्ध नगरपालिकामा पर्यटन क्षेत्रको विकासका लागि भइरहेको कार्यको प्रशंसा गर्दै मुलुककै राजधानी काठमाडौं र अझै नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्धमा भित्र्याउन सके मात्रै पनि स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्ने बताइन् ।
दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न भइरहेको पहलले यो क्षेत्रको पर्यटनमा थप फलदायी बन्ने उनले विश्वास व्यक्त गरिन्।
कालिका मन्दिर पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पुरातत्व विभागलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । ऐतिहासिक शिलालेखअनुसार १८३८ सालमा निर्माण भएको मन्दिर ०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएको थियो ।
नमोबुद्ध नगरपालिका प्रमुख टीपी शर्मा तिमल्सिनाले नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिँदै आएको बताए ।