काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो ।
हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक भएपछि मात्र सूची लागू हुने उनले बताए । स्थानीयस्तरमा चल्ने लोकल सवारीसाधनको भाडा भने नबढ्ने उनले स्पष्ट पारे ।
साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ ।