काठमाडौं। पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइएको छ। प्रधानमन्त्री देउवालाई दबाब दिनका लागि सुदूरपश्चिमवासीले १ लाख हस्ताक्षरसहितका पत्र बुझाएका हुन् ।
करिब ३३ महिना अवधि लगाएर सुदूरपश्चिमबाट संकलन गरिएका १ लाख हस्ताक्षरसहितका पत्र बिहीबार प्रधानमन्त्रीलाई बुझाइएको हो । करिब ३ दशकदेखि अनिश्चित रहेको आयोजना चाँडो बनाउनका लागि दबाब दिन १ लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाइएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
पश्चिम सेती निर्माणका लागि भन्दै बोलन्या थलीले विगत तीन वर्षदेखि विभिन्न दबाब कार्यक्रमहरु गर्दै आएको छ । दबाब समूहले ‘आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ ?’ भन्ने नारासहितका व्यानर डोकोमा टाँसेर दुई दिन माइतीघर मण्डलामा प्रदर्शन समेत गरेको थियो ।
वितग तीन दशकदेखि चर्चामा रहेको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजनामा निर्माणको प्रक्रिया अझै सुरु भइसकेको छैन । परियोजनामा बाह्य लगानी भित्र्याउने वा आन्तरिक लगानी खोज्ने भन्ने विषयमा सरकार अझै स्पष्ट भइसकेको छैन । बजेटमा यो विषय परेपछि पश्चिम सेतीमा लगानी र विकासको ढाँचा तयार पार्न भन्दै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।