काठमाडौं। ललितकलामा धनी त्यमाथि विश्व सम्पदा सूचीमा परेको पाटन दरबार क्षेत्र अद्वितीय सम्पदाको भण्डार रहेको छ। यस्तै मौलिक सम्पदाहरुको पहिचानको कारणले गर्दा विश्वमा नेपालको एउटा छुट्टै पयिहचान भनेको छ। पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पनि मौलिक पहिचान बोकेको मन्दिर मध्ये एक हो ।२०७२ सालको महाभूकम्पअघि नै जीर्ण बनेको ज्वाला नरसिंह मन्दिरमा भूकम्पले देखिने गरि क्षति नपुर्याए पनि अहिले यसको जीर्णोद्धार गरिँदै छ। चारै कुनामा रहेको नाग कन्या, अन्य बुट्टाको मौलिक स्वरुप नबिग्रिने गरी यसको निर्माण गरिनेछ।
ज्वाला नरसिंह मन्दिर १६ औं शताब्दीको अन्त्यतिर पुरन्दर सिंहले निर्माण गरिएको भन्ने भनाई रहेको छ। यस मन्दिर अन्य मन्दिरभन्दा भिन्न र कलात्मक किसिमको रहेको छ। कात्तिक नाचमा नचाइने नरसिंहको मुकुट राखेर निर्माण गरेको यस मन्दिरमा सय भन्दा बढी भिन्नै किसिमका इँटाको प्रयोग भएको छ। काठमाडौं भ्याली प्रिजभेसन ट्रस्टका साइट इन्जिनियरका अनुसार मन्दिरभित्र पानी नछिरोस् भनेर मौलिक किसिमले फरक–फरक इँटा राखिएको थियो।
यस मन्दिरको पेटी र पहिलो तल्लामा मात्र ४८ भन्दा बढी प्रकारका इँटा प्रयोग गरिएको छ। विगतमा पुरातत्व विभागले अध्ययनविना नै मन्दिरको पुनःनिर्माण गर्दा मन्दिरको मौलिकतामा हानी पुगेको थियो। पहिलेको जस्तै मौलिक आकारको इँटाको निर्माण गर्न कठिन भएको कारणले गर्दा निर्माण सक्न चुनौतिपुर्ण रहेको कुरा निर्माण कम्पनीले जनाएको छ। यस्ता प्रकारको इँटा सजलै नपाइने भएकोले इँटा निर्माणको लागि सरोकारवालाले सहयोग गर्नुपर्ने र मन्दिरको मौलिकतालाई जगेर्ना गर्न संवेदनशील भएर धैर्यका साथ सबै मिलेर जीर्णोद्धार गर्न आवश्यक रहेको छ।