काठमाडौं। सुन्दरीजलबाट पशुपतिसम्मको बागमती नदीलाई आगामी असार मसान्तसम्म ढलमुक्त बनाइने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीलाई ढलमुक्त बनाउने प्रतिबद्धता गरेको हो।
समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा बागमतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढल मुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।
कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्दै पशुपति क्षेत्रसम्मको नदीलाई ढल मुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताए । बागमतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर बागमती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी पनि उनले दिए ।
शिरदेखि वाग्मती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठूलो योगदान हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा सुधा श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।