काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा ऊर्जाको विकास अपेक्षीतरुपमा हुन नसकेको बताएकी छिन्। राजधानीमा सुरु भएको तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले नेपालमा ऊर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको यसको विकास अपेक्षितरूपमा हुन नसकेको बताएकी हुन्।
ऊर्जा क्षेत्रमा यो समयमा भएको विकासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको उनले बताइन्। उनका अनुसार पछिल्ला वर्षहरुमा ऊर्जा उत्पादनमा आएको बढात्तरी प्रंशसनीय रहेको छ। देशका विभिन्न क्षेत्रमा अझै पनी बिजुलीको सुविधा नपुगेकोले यस विषयमा सबै पक्षले चासो दिन अनुरोध गरिन्। जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा हिउँको तह पातलिँदै जाँदा त्यसको नकरात्मक असर पर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले हरियाली प्रवद्र्धनमा लाग्न समेत आग्रह गरिन्।
यसैगरी कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युतको विकासका लागि मन्त्रालयले पहल गरिरहेको जानकारी दिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुन नसकेको आरोप लगाए। नीति नियम तथा उच्च तहका व्यक्तिहरुको बोलाइभन्दा व्यवहार उल्टो हुने गरेकाले समस्या शिर्जना हुने गरेको भन्दै उनले बोली नियम अनुसार काम गर्न आग्रह गरे।