काठमाडौं। आगामी नयाँ वर्षदेखि झापाको भद्रपुर विमानस्थलबाट पोखरा सिधा उडान हुने भएको छ। बुद्ध एयरले भद्रपुर–पोखरा सिधा उडान गर्न लागेको हो।
आगामी वैशाखदेखि भद्रपुर–पोखरा रुटमा दैनिक सिधा उडान गर्ने बुद्ध एयरले जनाएको छ। यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ः२५ मा जहाज उड्नेछ । भद्रपुरबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ ।
यस उडानबाट दुवै प्रदेशका बासिन्दा लाभान्वित हुने बताइएको छ । साथै सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटक आउन सहज हुने कम्पनीको भनाइ छ । भद्रपुर आसपासका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसहित इलामका चियाबगान, हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटक बढाउन समेत यो उडान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।