काठमाडौं। सिमरा र पाँचखालमा औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सम्झौता भएको छ। निफ्राले सिमरा र पाँचखाल सेजमा पूर्वाधार निर्माणमाका लागि प्राविधिक र वित्तीय संभाव्यताका पक्षमा अध्ययन गर्ने भएको हो।
सिमरा सेजको ब्लक ‘बी’ र ‘सी’ मा पुर्वाधार विस्तार गर्ने गरी बैंक र सेजबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले हस्ताक्षर गरेका छन्।
दुवै क्षेत्रको सेज निर्माणका लागि ५ अर्ब ७० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।
सम्झौतामा ६ महिनाभित्र बैंक र सेजले गर्नुपर्ने कामको बारेमा उल्लेख गरिएको छ। बैंकसँगको सम्झौताले सरकारी औद्योगिक क्षेत्रमा निजी क्षेत्रको औपचारिक रुपमा प्रवेश भएको छ।
यो योजनालाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाउने सेजले जनाएको छ।
सिमरामा कुल आठ सय ४२ बिगाहा जग्गा रहेको छ। अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणले ब्लक ‘ए’ को १ सय ६५ बिगाहामा विस्तार गरिसकेको छ। बाँकी ‘बी’ ब्लक र ‘सी’ खाली रहेको छ। यी ब्लकमा पूर्वाधार विकासका लागि निफ्राले स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ। सम्झौतामा सरकारले कति प्रतिशत राख्ने र निजी क्षेत्रले कति प्रतिशत राख्ने भन्ने विषय निर्क्योल हुन बाँकी रहेको छ।
सम्झौताअनुसार सेजमा लजिष्टिक सपोर्ट प्राधिकरणले गर्छ। यस्तै पूर्वाधारको काम निफ्राले गर्ने गरी सहमति भएको छ। निफ्राले सुरुमा सेजमा पूर्वाधार निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ। यसको लागि लगानीको व्यवस्था समेत बैंकले गर्नेछ।