काठमाडौं। फलामे छड तथा डण्डीको मूल्य अध्ययन हुँदै गरेको जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको हो।
विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न सुरु गरेको हो। नेपाल स्टिल रोलिङ मिल एसोसिएसनमार्फत संयुक्त रूपमा सबै उद्योगीको विवरण आएको र त्यसको अध्ययन गर्ने काम भइरहेको विभागले जनाएको छ। उद्योगीबाट आएको विवरणलाई विभागले प्राथमिकता दिएर अध्ययन गर्ने काम गरेको बताइएको छ।
डन्डीको मूल्यका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि चासो देखाएकाले विभागमा उपलब्ध विवरण वाणिज्य सचिवलाई समेत बुझाइएको छ। उत्पादन मूल्य र बजार मूल्य अन्तरको अध्ययन गरेर जायज नभए उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने विभागले जनाएको छ। उद्योगीले पठाएको विवरणमा फलामको डण्डी उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिलेट र स्पनआइरन विदेशबाट आयात गर्नुपर्ने र ती सामान विदेशमै सेयर मार्केटजस्तै एकएकछिनमै बढ्ने गरेकाले यसको असर नेपाली बजारमा परेको उल्लेख गरिएको छ।