काठमाडौं। ११ वटा हेलिकोप्टर कम्पनीलाई सगरमाथा निकुन्ज क्षेत्रमा उडान–अवतरणमा रोक लगाइएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्स्योट नगर्ने हेलिकोप्टर कम्पनीलाई निकुन्ज क्षेत्रमा उडान–अवतरणमा रोक लगाउने निर्णय गरेको हो।
पटक–पटक ताकेता गर्दा समेत ११ वटा हेलिकोप्टर कम्पनीले अवैध उडान–अवतरणको बेरुजु रकम फर्स्योट नगरेपछि उडान–अवतरणमा रोक लगाइएको हो।
निकुन्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्ष देखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन्। हेलिकोप्टर कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को करिब सवा करोड शुल्क बुझाउन बाँकी रहेको निकुन्जले जनाएको छ। निकुन्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले उडान–अवतरणमा रोक लगाउने निर्णय गरेको हो।
बैठकले रकम दाखिलाका लागि ताकेता गर्ने र ताकेता गरेपछि पनि दायरामा नआए प्रवेशमा रोक लगाउने निर्णय गरेको बताइएको छ। निकुन्जले यसअघि पनि पटकपटक बक्यौता बुझाउन पत्रमार्फत आग्रह गर्दै आएको थियो।
निकुन्जको तथ्यांकअनुसार कैलाश एयरले आव ०७५/७६ को ८ लाख ६१ हजार, त्यस्तै सिम्रिकको १८ लाख, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र डाइनेस्टीले ७ लाख २९ हजार बक्यौता रकम बुझाउन बाँकी छ । अन्य सात कम्पनीहरूबाट कुल ४ लाखभन्दा मुनि बक्यौता रकम बुझाउन बाँकी रहेको निकुन्जले जनाएको छ। तर हेलिकोप्टर कम्पनीहरूले भने आफूहरुले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन्।