काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले टेण्डरको ३५ दिने म्यादलाई ७ दिनमा झार्न प्रस्ताव गरेका छन् । मंगलबार संसदको दिगो विकास तथा सुशासन समितिले नेपालको वित्तीय सुशासन र दिगो विकास लक्ष्यबारे गरेको छलफलमा भाग लिँदै अर्थमन्त्री शर्माले विकास र बजेट खर्चमा असर परिरहेकाले ३५ दिने म्यादलाई ७ दिनमा झार्न प्रस्ताव गरेका हुन् ।
सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचना निकाल्नुपर्ने, ३५ दिनमा खोल्नुपर्ने, ३५ दिन मूल्यांकन गर्नुपर्ने, ३५ दिन स्वीकृति गर्नुपर्ने व्यवस्था छ ।
उनले भने, ‘गोरखापत्र छापिने बेला बनेको ऐन हो यो, त्यहि अनुसार ३५ दिने सूचना निकाल्नुपर्ने किन ? आजको जमाना, विकास र प्रविधि छ, मेलबाटै एक्सचेञ्ज हुनसक्छ । टेण्डर खोल्ने दिनलाई घटाएर ७ दिनमा ल्याउनु पर्छ ।’
आफूले केही दिन अघि मासिक १० प्रतिशत बजेट खर्च गरौं भनेर प्रस्ताव राख्दा सम्बन्धित अधिकारीले त्यो वातावरण चाहियो भनी माग गरेको जानकारी दिँदै अर्थमन्त्री शर्माले त्यस्तो वातावरण तयार गर्न टेण्डरको ३५ दिने म्यादलाई ७ दिनमा झार्न सकिने प्रस्ताव गरेका हुन् । अर्थमन्त्री शर्माले टेण्डरको ३५ दिने म्यादलाई ७ दिनमा झार्ने प्रस्तावलाई संशोधन गर्ने गरी कानुन संशोधनको प्रस्ताव भने संसदमा ल्याइसकेका छैनन् ।