काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर नै सरकार आफैंले रेलमार्ग निर्माण गर्न सक्ने बताएका छन्।
चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दो क्रममा रहेकाले तत्काल भने सरकारले रेलमार्ग निर्माण गर्न नसक्ने बताए।
उनले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर भने सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताएका हुन्।
मुलुकमा रेलको आवश्यकता भएपनि धेरै खर्चिलो रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकका अन्य स्थानमा पनि बन्दरगाह निर्माण गर्ने बताए । उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
बन्दरगाह निर्माणले राजधानीलाई अन्तराष्ट्रिय बजारको हब बनाउन कोशेढुङ्गा सावित हुने उनले बताए । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकास मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्दरगाहलाई आयातको केन्द्रबिन्दु नभएर निर्यातको केन्द्रबिन्दु बनाउनुपर्ने भनाइ राखे । उनले रेमिटेन्स र आयातमा निर्भर अर्थतन्त्र जोखिमको विषय भएको जिकिर गरे।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो ।