मुगु। कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेको छ। उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढ्न थालेको हो।
घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।
गत फागुन महिनादेखि यता दैनिक सरदर ५० जनासम्म आन्तरिक र विदेशी पर्यटकहरू रारा भ्रमण गर्न आउनगरेको निकुञ्जले जनाएको छ। गतवर्ष कोरोनाका कारणले सुनसान बनेको रारा यो आर्थिक वर्षमा कोरोना न्यूनीकरण भएपछि रारामा आन्तरिक पर्यटक पाँच हजार १२८ जना र विदेशी पर्यटक ५३ जना रारा भ्रमणमा आएका छन्। यो आर्थिक वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको बताइएको छ।
पर्यटकको आगमन कम हुँदा लामो समयदेखि कामविहीन बनेका रारा आसपासका होटल व्यवसायीहरू पनि आन्तरिक पर्यटक आउन थालेपछि उत्साहित बनेका छन्। यात्रुको चाप बढेकाले नेपाल वायुसेवाले हप्ताको चार दिन सहुलियत उडान भर्दै आएका छन्। रारामा पर्यटकको सङ्ख्यामा बढ्न थालेपछि रारा राष्ट्रिय निकुञ्जको राजस्व यो आर्थिक वर्षमा १० करोड १६ लाख १२ हजार पुगेको छ।