काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देशको कुनै पनि स्थानमा लोडसेडिङको समस्या नभएको बताएका छन्।
उनले उद्योगहरूलाई समेत चाहिए जति बिजुली २४ सै घण्टा दिइएको दाबी गरेका छन्। विराटनगरका उद्योगीहरुले केही दिन अघि गरेको विरोधप्रति उनले असन्तुष्टि जनाएका छन् । उद्योगीहरुले अनावश्यक राजनीति गर्न थालेको उनको भनाइ छ । विराटनगरको एउटा औद्योगिक फिडर सटडाउन हुँदा केही उद्योगमा बिजुली गएको थियो । त्यो प्राविधिक समस्या भए पनि उद्योगीहरूले भने अहिले पनि लोडसेडिङ जारी छ भनेर कू–प्रचार गरिरहेकोमा घिसिङले आपत्ति जनाए । भारतमा मूल्य बढ्दा प्राधिकरणले राखेको मूल्यमा बिजुली नपाएपछि जम्मा दुई रात बिजुली काटिएको उनले प्रष्ट पारे । सर्वसाधारणको बिजुली काट्नुको साटो उद्योगीको काटेको उनले बताए ।
कोभिड महामारीबाट अर्थतन्त्र लयमा फर्कँदै गर्दा चीनमा ऊर्जाको चरम संकट आएको उदाहरण दिदै उनले नोभेम्बर र डिसेम्बरमा चीनमा बिजुली नहुँदा ८० प्रतिशत उद्योग एक महिनासम्म बन्द भएको स्मरण गराए । चीनले पनि सर्वसाधारणको बिजुली काटेर उद्योग सञ्चालनमा दिएको उनले बताए । अहिले भारतमा पनि बिजुलीको समस्या देखेर उद्योगीहरू स्वयम्ले उत्पादन बन्द गरेको घिसिङको भनाइ छ । उनले अहिलेको समस्या विश्वव्यापी ऊर्जा संकटकोरूपमा आएको समस्या भएको दाबी गरे । तर, यो समस्यालाई विराटनगरका उद्योगीले राजनीतिक शैलीमा प्रचार गरेको उनको गुनासो छ ।
प्राधिकरणले जानकारी विनै उद्योगहरुमा विद्युत बन्द गराएको उद्योगीको गुनासोका सन्दर्भमा घिसिङले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका विशिष्ट सदस्य पशुपति मुरारका लगायतका उद्योगी व्यवसायीलाई बोलाएर तत्कालीन परिस्थितिका बारेमा जानकारी दिइएको बताए । प्राधिकरणले महँगोमा मूल्यमा बिजुली किनेर सस्तोमै दिइरहेको उनको भनाइ छ । तर, उद्योगीहरूले प्राधिकरणको समस्यालाई पनि लोडसेडिङ भनेर अहिलेसम्म प्रचार गरिरहेकोमा उनको आपत्ति छ ।
यो समस्या गत साताको शुक्रबार र शनिबार अर्थात चैत १८ र १९ गते नै समाधान भइसकेको घिसिङले जानकारी दिए । तर उद्योगीले केही दिनलाई मात्र आएको अल्पकालीन समस्यालाई लिएर अहिलेसम्म राजनीति गरेको उनले बताए। अहिले प्राधिकरणले प्रतियुनिट ५.५० भारुमा बिजुली किन्न थालिसकेको जानकारी पनि उनले जानकारी गराए। भारतको बिजुली बजार पनि पुरानै लयमा आइसकेकोले सबै विषय सामान्यतर्फ गइरहेको उनले बताए । तर उद्योगीहरूले लोडसेडिङ भनेर प्राधिकरणविरुद्ध राजनीति गर्न नछोडेको उनको भनाइ छ । उद्योगीले तत्काल राजनीति बन्द नगरे प्राधिकरण पनि एक्सनमा उत्रिने घिसिङले चेतावनी दिए ।