काठ्माडौं। लामो समयको पखाई पछि सञ्चालनमा आएको चोभारको बन्दरगाह सडकमार्ग मात्रै नभएर रेल मार्गसँग पनी जोड्न माग गरेका छन्। मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुका अध्यक्षहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुख्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए। उनले सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नु पर्ने बताउँदै चोभार सुख्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोषेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्र्दभिकता बढ्ने बताए। उनले सरकारले चोभार सुख्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने बातावरण बनाउनु पर्ने बताए।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोडनु पर्ने बताए। उनले चोभार सुख्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात व्यवसायलाई व्यवस्थित गर्ने बताए।