काठमाडौं। नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ। ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोक सम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको बताइएको छ। कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो।
नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ। कूल ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजनाले दाबी गरेको छ।