काठमाडौं। राष्ट्रिय गौरवको जलाशाययुक्त बुढीगण्डकी जलविद्युत आयोजना (१२०० मेगावाट) चिनियाँ कम्पनीबाट खोसिएको छ। नेपाल सरकारले आफैंले निर्माण गर्ने गरी आयोजना चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीबाट खोसेको हो।
मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले यस आयोजनालाई चिनियाँ कम्पनीसँग खोसेर स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो।
एक महिना अघि नै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कम्पनी मोडलमा यो आयोजना आफैंले निर्माण गर्ने गरि मन्त्रिपरिषदमा प्रस्ताव लगेकी थिइन्।
मन्त्रालयका अनुसार अब कम्पनी मोडलमा निर्माण अघि बढ्नेछ। आयोजना आफैंले इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का निकालिनेछ। नेपालले नै बनाउने भएपछि सम्भवत छिट्टै ठेक्का निकाल्ने गरि काम हुने बताइएको छ।
तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आयोजना निर्माणको सम्झौतामा चिनियाँ कम्पनीसँग हस्ताक्षर गरेका थिए। त्यसपछि शेरबहादुर देउवाको सरकारले आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो। केपी ओली प्रधानमन्त्री भएपछि चिनियाँ कम्पनीलाइ नै पुनस् सुम्पिएका थिए। इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्सिङ (इपीसीएफ) मोडलमा निर्माण गर्न दिइएको थियो। सरकारैपिच्छे फरक फरक निर्णय भएका कारण ठोस कामा अघि बढ्न सकेको छैन्।
बुढीगण्डकी जलविद्युत आयोजना धादिङ र गोर्खा जिल्लामा निर्माण गरिनेछ। जसको ट्याक्टेवल इन्जिनयरले गरेको अध्ययन विस्तृत सम्भाव्यता अध्ययन र डिजाइन अध्ययन अनुसार त्यतिवेला २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान थियो भने ७ वर्ष १० महिनामा निर्माण गर्न सकिने उल्लेख गरेको थियो। तर नेपाल सरकारले यो आयोजना निर्माण अवधि दुई महिना बढाएर ८ वर्ष बनाएको थियो। अब ३ खर्ब रुपैयाभन्दा बढी लाग्ने अनुमान गरिएको छ।